राजनीति

चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुन : मन्त्री तिमिल्सिना



काठमाडौँ, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताएका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले चलचित्रलाई मनोरञ्जनको साधनका रूपमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पुर्‍याउने उद्योगका रूपमा विकास गर्ने गरी विधेयक तयार पारिएको बताए ।

उनले भने, “चलचित्र क्षेत्रको स्वरूप, प्रविधि र योगदानको दायरा परिवर्तन भइसकेको छ । यस क्षेत्रका समस्या पहिचान गरी तिनको समाधान गर्ने र उद्योगका रूपमा विकास गर्न सहयोग पुर्‍याउने गरी नयाँ कानुन बन्छ ।”

मन्त्री डा. तिमिल्सिनाले चलचित्रको सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै यससम्बन्धी कानुनी व्यवस्था अन्तर्राष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्नुपर्ने बताए । उनले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनबाटै स्पष्ट हुनुपर्ने बताए ।

चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ, प्रदेश र स्थानीय तहका अधिकार तथा जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने उनले बताए । तीनै तहका सरकारबीच अधिकारको दोहोरोपन र अनावश्यक हस्तक्षेप नहुने गरी चलचित्र क्षेत्रका कामको जिम्मेवारी सङ्घीय कानुनमै स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए । मन्त्री डा. तिमिल्सिनाले चलचित्र क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याउने योगदान बढाउने, विदेशी लगानी आकर्षित गर्ने र चलचित्र उद्योगका वर्तमान आवश्यकता तथा माग सम्बोधन गर्ने गरी कानुन निर्माण हुने बताए ।