काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
आज केसीले सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतबाट विशेष अधिवेशनको वैधता टुंगो लागिसकेकाले दम्भ, अहंकार कसैले राख्न नहुने बताएका हुन् ।
उनले भनेका छन्, ‘विशेष अधिवेशन विधिवत् रहेको विषय अदालतबाट टुङ्गो लागिसकेको वर्तमान अवस्थामा अब हामी सबैको प्राथमिकता कतैबाट पनि दम्भ, अहंकार वा शक्ति प्रदर्शन होइन, समग्र पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ ।
लोकतान्त्रिक पार्टीमा वाद–विवाद स्वाभाविक भएको भन्दै उनले संवाद र सहमतिमार्फत् सबै पक्षको सम्मान गरेर १५ औं महाधिवेशनलाई एकता अधिवेशन र अभियानका रूपमा सफल बनाउनु जरुरी रहेकोमा जोड दिएका छन् ।
केसीले लेखेका छन्, ‘असहमतिमा रहेका साथीहरूलाई समेट्दै साझा एजेन्डा तय गर्ने, व्यक्तिगत विवादभन्दा विधि, पद्दति र संस्थागत हितलाई सर्वोपरी राख्ने संस्कारको विकास आजको हाम्रो साझा दायित्व हो,’ केसीले लेखेका छन् । ‘वर्तमान चुनौतीहरू सामना गर्न सक्षम, सुदृढ र एकीकृत कांग्रेस निर्माण आजको आवश्यकता हो,’ ‘यसका लागि नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई अझ सशक्त बनाउनु आवश्यक छ ।’










प्रतिक्रिया दिनुहोस्