राजनीति

म चुकेँ भने सभापतिबाट हटाउनुहोस् : गगन थापा



काठमाडौँ, ३१ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताए ।

उनले भने, “कुनै दिन म चुकेको महशुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ,” “किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन ।”

पार्टी सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता उनले व्यक्त गरे । पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै उनले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए । नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “पार्टी सार्वजनिक सम्पत्ति हो, जहाँ हजारौँ मानिसको रगत, पसिना र योगदान जोडिएको हुन्छ,” “व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो ।”