राजनीति

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त: उच्चस्तरीय कार्यदल गठनको माग



काठमाडौँ, १७ कार्तिक । बिहीबार मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो । कांग्रेसले दुर्घटनामा परि जीवन गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

साथै, मृतकका परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न र घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको प्रबन्ध गर्न समेत कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । पछिल्लो समय देशभर सडक दुर्घटनाका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको भन्दै सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणहरूको गहन अध्ययन गर्नुपर्नेमा जोड दिइएको छ ।