राजनीति

भोटेकोशी बाढी पीडितको पुनःस्थापनाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्छ: मुख्यमन्त्री थापा



काठमाडौँ, ८ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा बेपत्ता नागरिकको खोजी र पुनःस्थापनाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ ।

सोमबार बसेको बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकमा विपदबाट प्रभावित क्षेत्रको वर्तमान अवस्था, नागरिकले भोग्नुपरेका समस्या तथा उद्धार, राहत र पुनःस्थापनाका लागि चाल्नुपर्ने कदमबारे विस्तृत छलफल भएको उहाँले जानकारी दिनुभयाे । 

बैठकमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने, विस्थापित नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्ने तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरूबाट सुझाव र धारणा लिइएको मुख्यमन्त्री थापाले बताउनुभयो । उहाँले विपदबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाको अनुभूति दिलाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षा र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो, “विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्दै तीनै तहका सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सहकार्य र एकताबद्ध प्रयासका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

पूर्वमूख्यमन्त्री बहादुर सिं लामाले बजेट अनुसारका साना वा ठूला कार्यहरु तत्काल गर्नुपर्नेमा जोड दिनुभयो । तीन वटै तहका सरकारको समन्वय गर्नुपर्नेमा जोड दिँदै उहाँले पीडितको तथ्याङ्कलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

बाढी पीडितले संघीय सरकारको काम गर्ने तरिकाको आलोचना गर्दै योजना मात्र सुनाउने नभई नतिजा आवश्यक रहेको उल्लेख गरे । राज्य अभिभावक बन्नुपर्ने औंल्याउँदै पीडित स्थानका जनप्रतिनिधिले बाढी प्रभावित क्षेत्रको बजेट कटौती नगर्न सुझाव समेत दिए ।

प्रदेश सरकारले तत्काल जनतालाई सेवा सहज बनाउन ५ वटा झोलुङ्गे पुल यसै वर्ष निर्माण गरिसक्ने लक्ष्य बनाएको छ । रसुवामा दुई वटा झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको तथा थप दुई वटा बेलिव्रीज निर्माणको लागि सम्भावित ठाउँको अध्यक्ष्ष भइरहेको जनाइएको छ । त्यस्तै जनतालाई प्रदेश सरकारले विभिन्न मन्त्रालयको विकास बजेट कटौती गरी प्रभाविक क्षेत्रको विकासको लागि छ अर्व रुपैंया बजेट व्यवस्थापन गरेको छ । प्रदेश सुशासन केन्द्र, ललितपुरमा सोमबार बसेको बैठकमा विपद् प्रभावित क्षेत्रको अवस्था र आवश्यकताका आधारमा राहत, उद्धार तथा पुनर्निर्माणका कार्यलाई अघि बढाउने विषयमा छलफल गरेको हो ।