विश्व

चट्याङ लागेर १०७ को ज्यान गयाे



एजेन्सी, १२ असार । भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ ।

भारतकाे आपत्कालीन प्रबन्धन विभागकाे अनुसार बिहीबार साँझ साढे ६ बजेकाे समयमा परेकाे चट्याङ लागेर बिहारमा  ८३ जनाकाे ज्यान गएकाे हाे । चट्याङ लागेर कैयाैँ घाइते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारकाे २३ जिल्लामा चट्याङ पर्दा यति ठूलाे सङ्ख्यामा मानवीय क्षति भएकाे हाे । सबैभन्दा धेरै गाेपालगञ्जमा १३ जनाकाे ज्यान गएकाे छ भन् मधुबनी र नबादामा आठ–आठ जनाकाे ज्यान गएकाे छ ।

भारतको मौसम विभागले बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ । मौसम विभागले भारती वर्षा र क्षतीको आशंका जताएको छ । भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ ।

शुक्रबारका लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ । यसमा पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगञ्ज, सितामढी, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, सहरसा र मधेपुरामा अत्यधिक वर्षा हुने आशंका जताइएको छ ।