Banner News

चुनावी प्रचारमा आचारसंहिताको ख्याल गर्न आयोगको ध्यानाकर्षण



काठमाडौँ, १६ कार्तिक । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भोलिदेखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो । प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकूल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गरेको छ ।

राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न पनि सचेत आग्रह गरेको छ । सार्वजनिक ठाउँमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्न नहुने, कुनै पनि कार्यक्रम गर्दा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने बताइएको छ ।