काठमाडौँ, ५ भदौ । नेपालको परम्परागत भू-राजनीतिक परिचयलाई बदल्दै मुलुकलाई दुई ठुला अर्थतन्त्रहरूबिचको ‘गतिशील र विश्वसनीय पुल’का रूपमा विकास गर्नुपर्ने परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।
विगत एक शताब्दीदेखि नेपाललाई ‘दुई ढुङ्गाबिचको तरुल’का रूपमा मात्रै चित्रण गरिने रणनीतिक भाष्यलाई परिवर्तन गर्दै २१ औँ शताब्दीको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ।
जर्मन संस्था फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस) नेपालद्वारा काठमाडौँमा आयोजित ‘जियोपोलिटिकल कन्फ्लिक्ट इन द वर्ल्ड’ पुस्तक विमोचन तथा प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीति अब ठोस र रूपान्तरणकारी आर्थिक परिणाममुखी हुनुपर्ने बताएका छन्। विश्वव्यापी राजनीतिक घटनाक्रमले नेपालको जनजीवनमा पार्ने प्रभावबारे चर्चा गर्दै उनले खाडी क्षेत्रको अस्थिरता नेपालीको भान्सा र दैनिक जीवनसँग जोडिएको उल्लेख गरे। उडान अवरोध, सम्झौता स्थगन, ऊर्जाको मूल्य वृद्धि र नेपाली नागरिकको सुरक्षामा पर्ने असरले बहुपक्षीय शान्तिको महत्त्व झन् बढाएको उनको तर्क छ।










प्रतिक्रिया दिनुहोस्