Banner News

नेपालका लोकतान्त्रिक दलहरूले अर्थ-राजनीतिक प्रश्नमा असाध्यै कम ध्यान दिए: महासचिव पोखरेल



काठमाडौँ, ९ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालका लोकतान्त्रिक दलहरूले अर्थ-राजनीतिक प्रश्नमा असाध्यै कम ध्यान दिएको गुनासो गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सवल अर्थतन्त्रविना लोकतन्त्र बलियो हुन नसक्ने तर्क गर्नुभयो । राज्यव्यवस्थाको जग नै अर्थतन्त्र रहेको औंल्याउँदै उहाँले लोकतान्त्रिक र विशेषगरी समाजवाद उन्मुख राज्यव्यवस्थालाई सुदृढ बनाउन आर्थिक विकासमा विशेष जोड दिनु अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो हुँदैन ! राज्यव्यवस्थाको जग नै अर्थतन्त्र हो। लोकतान्त्रिक र विशेषगरी समाजवाद उन्मुख राज्यव्यवस्थालाई सुदृढ बनाउन आर्थिक विकासमा विशेष जोड दिनु अपरिहार्य छ। तर, विडम्बना! नेपालका लोकतान्त्रिक दलहरूले अर्थ-राजनीतिक प्रश्नमा असाध्यै कम ध्यान दिए।

हाम्रो वर्तमान यथार्थ:

⚬ पूर्वाधार र सूचना प्रविधिको विकासले जीवनस्तर र उपभोग्य चाहना बढायो, तर हाम्रो आर्थिक विकासले त्यसलाई पछ्याउन सकेन।

⚬ वस्तु र सेवाको अधिकतम उपभोग गर्ने प्रवृत्तिले आर्थिक अभाव सिर्जना गर्‍यो। यही अभावको जगमा समाजमा भ्रष्टीकरण, अपराधीकरण, कालोबजारी र तस्करी तन्त्र मौलायो। यसबाट दलाल नोकरशाही पूँजीवादले मौलाउने थप अवसर पायो ।

⚬ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले गर्दा पैतृक सम्पत्तिको क्षय र युवाहरूको विदेश पलायनता समेत तीव्र बन्यो।

अबको बाटो:

यी गम्भीर समस्याहरूको सम्बोधन गर्न अब अर्थ-राजनीतिमा जोड दिँदै ‘स्वाधीन र सबल अर्थतन्त्र’ निर्माणमा ध्यान केन्द्रित गर्नुको विकल्प छैन। यसको अभावमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सबल र दिगो हुन सक्दैन।