राजनीति

अनेकतामा एकता, सहिष्णुता र आपसी भाइचारा नै हाम्रा मौलिक राष्ट्रिय पहिचान हुन्: मुख्यमन्त्री थापा



हेटौँडा, १० भदाै ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुस्लिम समुदायले गर्दै आएको दान तथा परोपकारको परम्पराले सामाजिक सद्भाव, भाइचारा र करुणा मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ।

मोहम्मद जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले मुस्लिम समुदायले ‘सदका’ अर्थात् दान तथा परोपकारमार्फत असहाय, विपन्न तथा गरिब वर्गलाई खाद्यान्न, कपडा र आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्नुभएको हो। “मुस्लिम समुदायले मोहम्मद जयन्ती लगायतका अवसरमा गर्दै आएको ‘सदका’ अर्थात् दान र परोपकारको परम्परा अत्यन्तै अनुकरणीय छ,” मुख्यमन्त्री थापाले भन्नुभएको छ, “असहाय, विपन्न र गरिब वर्गलाई खाद्यान्न, कपडा र आर्थिक सहयोग पुर्‍याएर यो समुदायले केवल धार्मिक दायित्व मात्र पूरा गरेको छैन, राज्यले बोक्नुपर्ने सामाजिक सुरक्षाको दायित्वमा समेत ठूलो सघाउ पुर्‍याएको छ।”

उहाँले यस्तो परोपकारी भावनाले बागमती प्रदेशमा भाइचारा, करुणा र सामाजिक सद्भावलाई थप मजबुत बनाएको बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले भरिएको विविधतायुक्त मुलुक भएकाले सबै समुदायका धर्म, संस्कृति र परम्पराको सम्मान तथा संरक्षण आवश्यक रहेको बताउनुभएको छ। “अनेकतामा एकता, सहिष्णुता र आपसी भाइचारा नै हाम्रा मौलिक राष्ट्रिय पहिचान हुन्,” उहाँले भन्नुभएको छ।

हजरत मोहम्मदले समाजमा शान्ति, आत्मीयता, दया, सामाजिक न्याय र भाइचारा कायम गर्न दिनुभएका सन्देशहरू वर्तमान सन्दर्भमा अझ सान्दर्भिक रहेको मुख्यमन्त्री थापा मगरको भनाइ छ।

उहाँले विभिन्न धर्म, संस्कृति र समुदायका चाडपर्वले आपसी सद्भाव, समझदारी र एकताको भावना थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ। बागमती प्रदेश सरकार प्रदेशभित्रका सबै धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासका लागि प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ। “मोहम्मद जयन्तीको यस पावन अवसरले हामी सबैमा सामाजिक सद्भाव, भाइचारा र एकता कायम गर्दै समृद्ध बागमती प्रदेश निर्माण तथा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस्,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ।