Banner News

नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको अपिल



काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा फेसबुकमा अपिल जारी गर्दै सभापति लामिछानेले पार्टीका नेता, सदस्य र शुभेच्छुकहरूलाई यस्तो कठिन समयमा संयमित र जिम्मेवार भएर अघि बढ्न आग्रह गरे। उनले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरे।

उनले भनेका छन, ‘रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न म पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूमा आग्रह गर्दछु।

बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्दछु। विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाऔँ।

यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ। एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ।

पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु।

विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो—नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग । प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न हार्दिक अपिल गर्दछु।’