राजनीति

चीनद्वारा नेपाललाई ५० टन राहत सामग्री सहयोग



काठमाडौँ, १४ भदाै । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले आपतकालीन राहत सामग्री र विशेषज्ञ टोली पठाएको छ ।

चिनियाँ वायुसेनाका दुईवटा ‘वाई–२०’ सैनिक विमान आज बिहान ७ बजे काठमाडौँ अवतरण गरेका हुन् । विमानस्थलमा आयोजित एक विशेष समारोहका बीच नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले ती राहत सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरे ।

सामग्री बुझ्न नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र संघीय संसदका सदस्य धर्म केसी विमानस्थल पुगेका थिए। सो क्रममा उनीहरूले चिनियाँ उद्धार विज्ञहरूलाई स्वागत समेत गरेका थिए ।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा सयौँ मानिसहरू फसेको र बेपत्ता भएको विवरण सार्वजनिक भइरहँदा चीनले ४ जना सुरुङ उद्धार विशेषज्ञ (Tunnel Rescue Experts) पठाएको छ । उनीहरूका साथमा सुरुङभित्र खोजी र उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरू समेत ल्याइएको छ ।