काठमाडौँ, १६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीहरूसँगको छलफल तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले अब पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरी सोहीअनुसार संरचना बनाउनुपर्ने बताए । जलवायुजन्य विपद्को सामना गर्नसक्ने र भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याए । भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुन सक्ने चेतावनी दिए ।
उनले भने, ‘जलवायु परिवर्तनको असरका कारण भोटेकोशी–त्रिशूली करिडोरमा जे भयो, हाम्रा अन्य मुख्य करिडोरमा यस्तो भएको भए कस्तो क्षति हुन्थ्यो होला ? त्यहाँको भौगोलिक बनावट र परिस्थिति नै त्यस्तै छ, प्राकृतिक मौसमको प्रतिकूलता पनि निकै चुनौतीपूर्ण छ । त्यसकारण अब पूर्वाधार निर्माण गर्दा जलवायु अनुकूलन संरचनादेखि सबै कुरामा पुनर्विचार गर्नुपर्ने ठाउँमा हामी आइपुगेका छौं ।’










प्रतिक्रिया दिनुहोस्