राजनीति

बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापनालाई उच्च प्राथमिकता: मन्त्री रावल



नुवाकोट, १९ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिकाका प्रभावितहरूको अबस्था बुझ्न, अस्थायी र स्थायी पुनःस्थापनाका विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गर्नुभयो।

बिहिवार मन्त्री रावल नुवाकोट पुगी विदुर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालासँग बाढीबाट प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकहरुको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनर्स्थापना र भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापन लगायतका विषयमा छलफल गर्नुभएको हो।

छलफलका क्रममा मन्त्री रावलले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तत्कालीन राहतसँगै प्रभावित परिवारको सुरक्षित र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिने उहाँले बताउनुभयो। त्यसैगरी, मन्त्री रावलले पालिकाहरुलाई होल्डीङ सेन्टरमा रहेका व्यक्तिहरुको  विवरण यथाशीघ्र उपलब्ध गराईदिन पनि अनुरोध गर्नभएको छ।