नुवाकोट, २५ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका लागि सरकारले मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने क्रममा बिहीबार नुवाकोट पुगेका देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सरकारले खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘विपत्तिको अवस्था अत्यन्तै दुःखदायी छ । यहाँका साथीभाइ तथा प्रभावित नागरिकप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु । अहिले सरकारले मुख्य रूपमा चारवटा विषयलाई प्राथमिकतामा राख्नुपर्छ । खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र ‘रि–कन्सट्रक्न’ (पुनर्निर्माण) गर्नुपर्छ । यी चार वटा कुरा नगरी नहुने काम हुन् । यसका लागि सरकारले के गरेको छ, के गरेको छैन, आवाज उठाउँछु । बाहिर भन्छु, प्रेसमा सबै ठाउँ भन्ने छु । त्यसपछि राहत व्यवस्थापन महत्वपूर्ण हुन्छ । राहतका लागि पर्याप्त ठाउँ छैन, मानिसहरूलाई बस्ने व्यवस्था पनि सहज छैन । उद्धार गरिसकेपछि उनीहरूलाई कहाँ राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले तत्काल ध्यान दिनुपर्छ । त्यसपछि पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।’
अहिले तत्काल गर्नुपर्ने पहिलो काम खोज तथा उद्धार (रेस्क्यु) भएको उनको भनाइ थियो । देउवाले रसुवा बाढीले विपत्तिले निम्त्याएको दुःख अत्यन्तै गम्भीर भएको भन्दै सबै मिलेर प्रभावित नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा जुट्नु पर्ने आवश्यकता औंल्याए ।










प्रतिक्रिया दिनुहोस्