एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको छ ।
इरानका सर्वोच्च नेता मोजतबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहू सत्तामा रहेसम्म आफ्नो देशले होर्मुज नाका नखोल्ने बताएका हुन् ।
इरानी समाचार एजेन्सीहरूले बिहीबार प्रकाशित गरेको वक्तव्यमा जोल्कदरले भनेका छन्, “इरानले आक्रामक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको ढाड भाँचिदिने निर्णय गरेको छ ।”
उनका अनुसार यो इरानका तर्फबाट गरिएको प्रतिशोधात्मक कारबाहीको पहिलो चरण हो ।
बीबीसी पर्सियनका अनुसार एकातिर ट्रम्प इरानसँगको युद्ध वा वार्ताबारे बारम्बार र कहिलेकाहीँ परस्परविरोधी बयान दिइरहेका छन् । अर्कातिर इरानभित्र अमेरिकासँगको सैन्य मुठभेड जारी राख्ने कि वार्ताको बाटो अपनाउने भन्ने विषयमा मतभेद गहिरिँदै गएको छ ।
इरानका केही शीर्ष राजनीतिक नेताहरूले अमेरिकालाई इस्लामाबाद सम्झौता लागु गर्न र त्यसलाई युद्ध अन्त्य गर्ने एउटा सर्तका रूपमा स्वीकार गर्न अपिल गरिरहेका छन् ।
यस्ता नेताहरूमा राष्ट्रपति मसुद पेजेस्कियान र सभामुख मोहम्मद बाकर गलिबाफ पनि छन् ।
अर्कातिर, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का सैनिक तथा कमान्डरसहितका कट्टरपन्थीहरू भने युद्ध जारी राख्नु र होर्मुज जलमार्ग बन्द गर्नुलाई अमेरिका तथा इजरायलको सामना गर्ने बढी प्रभावकारी रणनीति बताइरहेका छन् । बीबीसी










प्रतिक्रिया दिनुहोस्