राजनीति

डिजिटल प्रणालीको निर्माणमा सरकारले जोड दिएको छ : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

आज ललितपुरमा आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’मा उनले नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्नेगरी दिगो एवं उत्थानशील डिजिटल प्रणालीको निर्माणमा सरकारले जोड दिएको बताए ।

भोटेकोशी बाढीबाट समुदाय र भौतिक पूर्वाधारमा पुर्याएको क्षतिसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको परीक्षण भएको विचार व्यक्त गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई मुख्यतः सुविधा, दक्षता र आधुनिकीकरणसँग जोडेर हेर्ने गरिएको बताए ।

उनले भने, “हालैको विपद् अनुभवले डिजिटल प्रणालीको निरन्तरता, विश्वसनीयता र सङ्कट प्रतिकार्य क्षमतालाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ ।”

उनले सङ्कटका समयमा सूचना पूर्वाधारजत्तिकै महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने, विश्वसनीय तथ्याङ्क निर्णय प्रक्रियाको आधार बन्ने र सार्वजनिक विश्वास प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिने बताए ।

“भोटेकोशी बाढीले हाम्रो भौतिक पूर्वाधारको मात्र परीक्षण गरेन । यसले हाम्रा सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थाहरूबीचको समन्वय र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वका लागि हाम्रो सामूहिक तयारीको समेत परीक्षण गर्यो”, सञ्चारमन्त्री तिमिल्सिनाले भने ।