काठमाडौँ, २१ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा युवा, जेनजी पुस्ता, महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने बताएकी छन् ।
कोप-३१ को तयारी तथा नेपालको सहभागिताका विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चमा सबै वर्ग, समुदाय र समूहको आवाज समेटिनुपर्ने बताइन् ।
प्रतिनिधिहरूको सुझावलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका मुद्दामा सबैको सहभागिता र प्रतिनिधित्व महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । कोप-३१ मा नेपालको सहभागितालाई समावेशी बनाउँदै प्रभावित समुदायका सवाललाई प्राथमिकताका साथ उठाउने विषयमा आफू गम्भीर रहेको उनले बताइन् ।
छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरूले कोप-३१ मा युवा, जेनजी पुस्ता, महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समान रूपमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्