काठमाडौँ, २१ कार्तिक । नवलपरासीमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार कसुरदारलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा बस्ने ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन् । नवलपरासी जिल्ला अदालतले २०६३ असार ३२ गते कर्तव्य ज्यान मुद्दामा गुप्तालाई १० वर्ष ५ महिना १७ दिन कैद सजायको फैसला सुनाएको थियो ।
फैसलापछि कैद सजाय भुक्तान नगरी फरार रहँदै आएका उनलाई इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएकामा अदालतको आदेश अनुसार कारागार चलान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्