काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापतिलाई गिरफ्तार गर्ने हल्ला चलाएर सरकारले आफूमाथि उठेका गम्भीर प्रश्नहरूबाट ध्यान मोड्न खोजेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै महामन्त्री पौडेलले देशमा ‘विधिको नभई सनकको शासन’ चलिरहेको दाबी गरेका छन् । उनले बिनापक्राउ पुर्जी प्रहरी न्यूजरुममा प्रवेश गर्ने सरकारबाट विधिको शासनको अपेक्षा गर्न नसकिने बताएका छन् । सरकार र सत्ताको प्रभाव कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै पौडेलले गिरफ्तारीको हल्ला चलाएर प्रकरण सामसुम पार्न नसकिने चेतावनी दिएका छन्।
‘सत्ता तिम्रो छ, सरकार तिम्रो छ, प्रहरी र प्रशासनमाथि प्रभाव तिम्रो छ तर कानुन तिम्रो होइन । न्याय तिम्रो निजी सम्पत्ति होइन,’ उनले लेखेका छन्, ‘हामी निष्पक्ष अनुसन्धान चाहन्छौँ। यो प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ नभएसम्म हामी छाड्ने छैनौँ । गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन र सत्ताको आडले सत्य लुक्दैन ।
महामन्त्री पौडेलले यतिबेला अनुसन्धानको कठघरामा पार्टी सभापति गगन थापा नभई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन हुनुपर्ने जिकिर गरेका छन् । अनुसन्धानको क्रममा बरामद गरिएको डिजिटल प्रमाणमाथि प्रधानमन्त्रीको सचिवालयबाटै छेडछाड भएको उनको गम्भीर आरोप छ। उनले बिचौलियासँग प्रधानमन्त्री र उनको सचिवालयको सम्बन्ध के थियो र उसलाई कसको पहुँच र प्रभावमा संरक्षण गरिएको थियो भन्दै सरकारमाथि प्रश्न तेर्स्याएका छन्।
पौडेलले भनेका छन्, ‘प्रहरीले बरामद गरेको अनुसन्धानको महत्त्वपूर्ण प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो ? कुन कानुनी अधिकार र कसको निर्देशनमा पुग्यो ? त्यो अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल प्रयोग भएको, स्क्रिनसट लिइएको र केही सन्देशहरू मेटिएको विषयको जवाफ कसले दिने ? के लुकाउन र कसलाई जोगाउन यसो गरियो ? आफूमाथि उठेका गम्भीर प्रश्नबाट ध्यान मोड्न अरूमाथि राजनीतिक आक्रमण गर्ने र अनुसन्धानलाई राजनीतिक प्रतिशोधको हतियार बनाउने काम भइरहेको छ।’










प्रतिक्रिया दिनुहोस्