काठमाडौँ, ३ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन् ।
पार्टीद्वारा राजधानीमा आयोजित दुई दिने (मङ्सिर २–३) राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै केन्द्रीय कमिटीद्वारा निर्धारित तथा निर्देशित ‘दुई कार्यभार र पन्ध्र काम’को लक्ष्य हासिल गर्न र त्यसको तयारीमा जुट्नका लागि राष्ट्रिय भेला एउटा अङ्ग भएको उनले बताए ।
पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै उपाध्यक्ष थापाले भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गरे । पार्टीको संसदीय दलका नेतासमेत रहनुभएका थापाले आगामी स्थानीय, प्रदेश, राष्ट्रिय सभा निर्वाचनको तयारी गर्दा गत फागुन २१ मा भएको निर्वाचनबारे पार्टीद्वारा गरिएको समीक्षालाई ध्यान दिनु जरुरी रहेको र त्यसको जगमा टेकेर चुनावको सही रणनीति तय गरिने उनले बताए ।
उणले केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुर्याउन पार्टीको पुनर्निर्माण गर्नुपर्ने, राष्ट्रियता तथा लोकतन्त्र फर्काउनका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने, लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनहरूको पूर्वतयारी गर्नुपर्ने, संविधान रक्षाका लागि कानुनी सङ्घर्ष गर्नुपर्ने तथा जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने निर्णय गरेको बताए । आगामी वर्ष निर्वाचन वर्ष भएकाले पालिका, प्रदेश र राष्ट्रिय सभाका निर्वाचनहरू लोकतान्त्रिक शक्तिहरूका लागि असामान्य परिस्थिति भएको औंल्याउँदै गत फागुनको पुनरावृत्ति हुन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै आजको केन्द्रीय प्रश्न भएको उनले बताए ।
विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण सङ्घर्षका रूपमा रहेको बताउँदै उपाध्यक्ष थापालेभने– ‘आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति सङ्घर्ष हुने निश्चित छ ।’ ‘फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न चाहने र बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्ने हुँदा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन्’, ।
आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ चीनका महान रणनीतिज्ञ सुन जुको प्रसिद्ध कथनलाई आत्मसात गर्नुपर्ने धारणा राख्दै उपाध्यक्ष थापाले निर्वाचनमा विजय प्राप्त गर्न आन्तरिक एकतालाई सुदृढ गर्नुपर्नेमा जोड् दिए । गत वर्षको निर्वाचनमा भएका आन्तरिक कमजोरीको समेत चर्चा गर्दै उनले भने- ‘सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन् । विगतको निर्वाचनमा हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ । हामीले हाम्रा कमजोरीहरू बुझ्न सकेनौँ । हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ । हामीले आन्तरिक एकता कायम गर्न सकेनौँ । हामीले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ ।’
उपाध्यक्ष थापाले विजय प्राप्तीका लागि जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुका साथै प्रतिद्वन्दीविरुद्ध सहकार्य र नेतृत्वको वरिपरि गोलबन्द हुनुपर्नेमा जोड् दिए । केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै अब त्यसको दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको उनले बताए ।
उनले भने, ‘अहिले भूराजनीतिक शक्तिहरूबीच सङ्घर्ष तीब्र बन्दै गएको छ । लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको छ । जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको छ । सरकारप्रति जनतामा आक्रोश चुलिँदै गएको छ । पछिल्ला घटनाक्रमहरूले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत दिइरहेका छन्’, ।










प्रतिक्रिया दिनुहोस्