समाचार

करिब पाँच क्विन्टल गाँजासहित चालक पक्राउ



काठमाडौँ, ६ मंसिर । जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति भेडेटारबाट धरानतर्फ आइरहेको बीआर११ वाई ३०३९ भारतीय नम्बर प्लेटको स्कार्पियोलाई प्रहरीले धरान–२ भानुचोकमा रोक्न खोज्दा भागेपछि सेउती पुलबाट निजलाई नियन्त्रणमा लिएको हो ।

उक्त सवारी साधन चेक जाँच गर्दा १६ वटा कालो बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको छ । प्रहरीले चालक साह र बरामद भएको सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।