राजनीति

सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता : सभामुख अर्याल



काठमाडौँ, ६ मंसिर । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारले जनताको अपेक्षा र विश्वासलाई आत्मसात् गर्दै इमानदारिता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ का विजेता घोषणा कार्यक्रममा उनले ०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तनको आधार तयार गरेको बताए । सभामुख अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको बताए ।

उनले भने, “हामीसँग साधन र स्रोत सीमित छन् । जनताका सबै अपेक्षा तत्काल पूरा गर्न सम्भव नहुन सक्छ । तर, उपलब्ध स्रोतको पारदर्शी, प्रभावकारी र इमानदार परिचालन गर्न सकियो भने विकास र समृद्धिको यात्रालाई गति दिन सकिन्छ । भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो ।”