Banner News

अति नियमनले अर्थतन्त्रमा बोझ बढायो: अर्थमन्त्री वाग्ले



काठमाडौँ, ८ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताएका छन् । 

समयसापेक्ष नरहेका पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुनी सुधार गर्न आवश्यक रहेको बताएका छन् । 

मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन् । नियमन आवश्यक भए पनि अत्यधिक कानुनी व्यवस्थाले अर्थतन्त्रलाई बाधा पुर्‍याउन सक्ने वाग्लेले बताए । एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना हुँदा नीतिगत विरोधाभास उत्पन्न हुने उनको ठहर छ ।

उनले भने, ‘नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पुर्‍याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानुनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ ।’

विभिन्न अध्ययन र प्रतिवेदनले औँल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै उनले नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको स्पष्ट पारे ।

अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका ऐन खारेज गर्ने प्रस्ताव गरिएको वाग्लेले जानकारी दिए । यसका साथै मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा आवश्यक संशोधन गर्ने प्रस्ताव अघि सारिएको छ ।