राजनीति

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै



मकवानपुर, ८ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ।  नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भदौ ३ गते दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए। 

मुख्यमन्त्री नियुक्त हुँदा थापालाई नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी कुल ६३ सांसदको समर्थन रहेको थियो । राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन, विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा अनुपस्थित रहन आफ्ना सांसदहरूलाई ‘ह्विप’ जारी गरेको छ ।

हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २४, नेकपाको २६, नेपाली कांग्रेसले आफ्ना ३६ जना सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरिसकेको छ। यसैगरी तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र दुई सांसद रहेको हाम्रो नेपाली पार्टी पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा सकारात्मक देखिएका छैनन् ।