Banner News

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह



काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले बुधबार साँझ टेलिफोन  कुराकानीमा प्रधानमन्त्री शाहसँग भाेटेकाेशी मा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तिव्रता दिन राज्यका सबै अंग परिचालनका लागि आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीले पारेको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी दिँदै सरकारले नागरिकको सहयोग, उद्धार र राहतका लागि राज्यका सबैं सयन्त्र परिचालन गरी हरसंभव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने जानकारी दिनुभएको पनि प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको थियो । उहाँले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गर्नुभएको थियो । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उहाँले आग्रह गर्नुभएको थियो ।