काठमाडौँ, १३ भदौ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका नेपालीका साथै मित्र राष्ट्रहरूलाई गम्भीर रूपले ध्यान आकर्षित गराउँदै राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धताका लागि अपिल गरेको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शनिबार प्रेस वक्तव्य जारी गर्दै भोटेकोशीमा यति भयानक बाढी आउनुको कारणबारे गम्भीर अध्ययनको आवश्यकता रहेको जनमोर्चाको ठहर छ । विश्वमा आएको पर्यावरणीय परिवर्तन र जलवायु परिवर्तनले नेपालमा पारेको नकारात्मक असरबारे सरकार तथा नागरिक तहबाट ठोस अध्ययन नहुँदा जनता बारम्बार विनाशकारी प्रकोपको शिकार बन्नुपरेको बताइएको छ । पूर्वसूचना, ठोस अध्ययन र पूर्वसुरक्षा योजना व्यवस्थित गर्न सके भविष्यमा हुने क्षति न्यूनीकरण गर्न सम्भव हुने भएकाले सरकारले यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
विगतका सरकारहरूले विपद् व्यवस्थापनका क्रममा राहत दुरुपयोग वा भ्रष्टाचार गरेका उदाहरण रहेको भन्दै यसपटक त्यस्ता घटना नदोहोरिने आशा पार्टीले व्यक्त गरेको छ । राष्ट्रिय जनमोर्चाले सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, उद्योगी, व्यापारी तथा पेसागत सङ्घसंस्थाहरूलाई पनि पीडितको सहयोगका लागि अगाडि बढ्न आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्