काठमाडौँ, २७ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताएका छन् ।
आज काठमाडौँमा आयोजित काष्ठमण्डप संवादको तेस्रो शृङ्खलामा बोल्दै खनालले यस्ता विपद् विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् ।
नेपाल र चीनबिचको सम्बन्धमा चीनलाई समृद्धि र सङ्कट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै उनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गरे । नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपाली भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने उनले स्पष्ट पारे ।
भोटेकोशीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्वसूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउँदै यस्ता आरोप तथ्यमा आधारित नभएको बताए । हिमाली क्षेत्रमा हुने विपद्लाई जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको उनले उल्लेख गरे। नेपालले जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान, विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
नेपाल-चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनुपर्ने खनालले बताए। रेलमार्ग, सडक, सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले स्पष्ट पारे।










प्रतिक्रिया दिनुहोस्