राजनीति

अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सरकार चुक्यो: नेता ज्ञवाली



काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सबै क्षेत्रमा आवश्यक नपर्ने उल्लेख गर्दै जहाँ तुरुन्तै अन्तर्राष्ट्रिय सहयोग जुटाउनु थियो, त्यसमा सरकार चुकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट उनले प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय गरेर राहत वितरण गर्न सरकारलाई सुझाव दिए । यो विपत्ति हाम्रा कारणले भएको होइन, जलवायु परिवर्तनको विषयमा सरकारले यस मुद्दालाई अन्तर्राष्ट्रिय करण हुन आवश्यक भएको उनको भनाइ छ । 

नेता ज्ञवालीले भने, ‘अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सरकार चुकेको छ । सबै ठाउँमा अन्तर्राष्ट्रिय सहयोग चाहिँदैन तर तुरुन्तै एक्सपटिज जुटाउनुपर्ने थियो त्यसमा सरकार असफल रह्यो। खासगरी टनेल रेस्क्युको मामिलामा सरकारको ध्यानाकर्षण गराएका छौँ । सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वय हुन जरुरी छ । यी सबै शक्तिलाई परिचालन गरेर एउटा बलियो शक्ति निर्माण गर्नुपर्छ । समन्वयको अभावका कारण राहत सामग्री एक ठाउँमा पीडित जनताहरू अर्को ठाउँमा छन् । सरकारले यस कुरालाई अझ बढी प्रभावकारी बनाउन जरुरी छ, त्यसतर्फ सरकारको ध्यान जाओस् ।’