काठमाडौँ, २६ भदौ । कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।
राजदूत मेगनले आज भेटवार्ता गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छन् ।
बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि संयुक्त राज्य अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड नेपाली रुपैयाँ) भन्दा बढी मानवीय सहायता परिचालन गरेको छ ।
भेटका क्रममा उनले बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकका साथै अन्य पीडितहरूको खोजी र उद्धारमा नेपाल सरकारले असाधारण तत्परता देखाएको भन्दै उनले आभारसमेत प्रकट गरिन् ।
अमेरिकी दूतावासका अनुसार अमेरिकाले उपलब्ध गराएको सहायतामा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तका उपकरण तथा विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीहरू समावेश छन् ।
बाढीमा परी ज्यान गुमाएका पीडितहरूको पहिचान गर्न र उनीहरूका परिवारलाई सही जानकारी उपलब्ध गराउन अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरू समेत नेपाल प्रहरीसँगै समन्वय गरेर काम गरिरहेका अमेरिकी दूतावासले जानकारी दिएको छ । आफ्ना नागरिकहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको बताउँदै दूतावासले आफ्ना आफन्तबारे जानकारी लिन चाहने परिवारलाई सहयोग गर्न कन्सुलर सेवा विस्तार गरिएको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्