काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।
वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
आज काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा डंगोलले काठमाडौँमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।
उनका अनुसार, सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत भइरहेको छ । डंगोलले विगतमा शहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन् ।
करिब तीन दशकअघि सुरु भएका शहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ । काठमाडौँमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
अहिले गर्न सकिने कामबाटै समाधानको शुरुआत गर्नुपर्ने भन्दै उनले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउन लागिएको जानकारी दिइन् । डंगोलले शहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने जानकारी दिइन् ।










प्रतिक्रिया दिनुहोस्