काठमाडौँ, ३१ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्।
आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले कृत्रिम बुद्धिमत्ता (एआई) र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।
विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ। यसका साथै नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए। विपद् उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाएको उनले उल्लेख गरे।
हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएका छन्। मन्त्री पुनले भने, ‘खासगरी वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत–सम्भार, पुनःस्थापना र आवश्यक सहयोग गर्ने काम भइरहेको छ।’ उनले थपे, ‘हामी कुनै दैवी विपत्ति भयो भने केही समय त्यसलाई सम्झिन्छौँ, तर एक वर्षपछि बिर्सिहाल्छौँ। त्यसकारण यस्तो अवस्था नहोस् भनेर सबै मापन केन्द्रहरूलाई ठीकठाक, तन्दुरुस्त र दुरुस्त अवस्थामा राख्ने काम भइरहेको छ।’
एआई र ड्रोन प्रयोगबारे बोल्दै उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणालीको विकास गर्ने तथा एउटा ‘सिचुएसन रुम’ बनाएर त्यसबाट निरन्तर रियल टाइममा विभिन्न पूर्वानुमान तथा निगरानी गर्ने व्यवस्था विकास गर्ने काम पनि भइरहेको छ।’ उनले अगाडि भने, ‘अहिले ड्रोन र रोबोटिक्सको उपयोगिता धेरै देखिएको छ। त्यसैले विज्ञान तथा प्रविधि मन्त्रालयले सकेसम्म नेपालमै ड्रोन उत्पादन गर्ने उद्देश्यका साथ काम अघि बढाइरहेको छ।’










प्रतिक्रिया दिनुहोस्