काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्ने बताए । लौहपुरुष गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्नुपर्ने बताए । समयसँगै चुनौतीहरू परिवर्तन भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता अझ बढेको थापाको भनाइ छ ।
‘हामी १५औँ महाधिवेशनको यात्रामा छौं । यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्ने अवसर पनि हो,’ थापाले लेखेका छन्, ‘समय बदलिएको छ, चुनौती बदलिएका छन् । तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ ।’
कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नहेरी गणेशमान सिंहजस्ता अग्रज नेताले देखाएको लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्