काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन् ।
१२औँ संविधान दिवसका अवसरमा आज जारी गरेको प्रेस वक्तव्यमा अध्यक्ष ओलीले प्रमुख दलहरूबिचको समझदारीमा अनेकौँ प्रतिकूलता र चुनौती चिर्दै संविधान जारी गर्न सफल भएको उनको भनाइ छ । संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन् ।
ओलीले भनेका छन्, ‘जनताको प्रत्यक्ष सहभागिता र स्वामित्वमा यो संविधान निर्माण भएको हो । संविधान जारी भएपछि मुलुकले नाकाबन्दीजस्तो अत्यन्त ठुलो कठिनाइ सामना गर्नुपर्यो, जसले हामीलाई यस संविधानको रक्षा र संविधानमा एकताबद्ध हुन प्रेरित गर्दछ ।’
वक्तव्यमा गत वर्ष राज्यका प्रमुख धरोहरमाथि भएको विध्वंसकारी आक्रमणपछि संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गम्भीर सङ्कट पैदा भएको भनिएको छ। ‘संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि नै गम्भीर सङ्कट पैदा गरिएको छ’ अध्यक्ष ओलीले वक्तव्यमा भनेका छन् ‘वर्तमान सरकार संविधान र कानुनी राज्यको मान्यता विपरीत स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको आरोप लगाउँदै ओलीले भनेका छन्, ‘राज्यका संवैधानिक र संस्थागत संरचनाहरूलाई स्वेच्छाचारिताको बुटले कुल्चिइरहेको छ।’
राज्यका विभिन्न अंगमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा थप राजनीतिकरण गरिएको आरोप लगाउँदै उनले राजनीतिक नियुक्तिबारे ‘जान्नेलाई छान्ने होइन, मान्यलाई छान्ने नीति बनाएर स्वेच्छाचारी ढङ्गले अन्धाधुन्ध राजनीतिक नियुक्ति दिने काम भइरहेको’ बताएका छन् । अध्यक्ष ओलीले वर्तमान सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुरूप काम गरिरहेको अनुभूति भएको बताएका छन्। उनले भनेका छन्, ‘वर्तमान सरकारले नेपाल राज्यलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको अनुभूति भइरहेको छ ।’
यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिएका छन्। ओलीले आह्वान गरेका छन्, ‘मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने भएको छ ।’










प्रतिक्रिया दिनुहोस्