राजनीति

माछापुच्छ्रेमा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा



पोखरा, ४ मंसिर । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । 

पोखरामा प्याराग्लाइडिङको दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा गर्ने लक्ष्यका स्थापना गरिएको बताइएको छ । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।

प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गरेका हुन् ।

स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । एक सत्रमा ६ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ ।