राजनीति

कांग्रेस सभापति गगन थापा रसुवामा



काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढीपीडितको पछिल्लो अवस्थाबारे जानकारी लिन रसुवा पुगेका छन् ।

थापासहित कांग्रेसका नेताहरू आइतबार रसुवा पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग भेटघाट गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले रसुवाका बाढीपीडितको वर्तमान अवस्था समेटेर प्रतिवेदन तयार पार्ने भएको छ । स्थानीयस्तरमा पीडितको अवस्था, उनीहरूका समस्या र आवश्यकताबारे जानकारी संकलन गर्न सभापति थापासहितका नेताहरू रसुवा पुगेका हुन् । उनीहरूले आइतबार बिहान बेत्रावतीमा बाढीपीडितसँग भेटघाट तथा छलफल गरेका छन् ।

कांग्रेसले धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको छ । प्रतिवेदनका आधारमा बाढीपीडितलाई पार्टीका तर्फबाट सम्भव सहयोग गर्ने र सरकारले गर्नुपर्ने कामका विषयमा सरकारलाई खबरदारी गर्ने कांग्रेसको योजना छ ।

जग्गाको अभाव देखाउँदै सरकारले स्थायी बसोबासको व्यवस्था गर्न ढिलाइ गरेको बाढीपीडितको गुनासो छ ।