राजनीति

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना



काठमाडौँ, ३० भदौ । नेपाल र माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जीम एस. लिपवेले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त वक्तव्यमा सोमबार हस्ताक्षर गरेका हुन् ।

कूटनीतिक सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतले आपसी हितका विषयमा छलफल गरेका  छन् । साथै, द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् ।

याेसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकको संख्या १८५ पुगेको छ ।