Banner News

पर्वहरुले संस्कृति र सामाजिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य



दाङ, २८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

बर्का अट्वारी पर्वको अवसरमा आतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बर्का अट्वारी पर्वले थारू समुदायमा मात्र नभई समग्र समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको बर्का अट्वारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गरेका हुन् ।

बदलिँदो सामाजिक परिवेशमा मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यले बताए । लुम्बिनी प्रदेश सरकार प्रदेशको बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै सबै जातजाति, भाषा, धर्म र समुदायका मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।