समाचार

६ किलो चरेससहित २ जना पक्राउ



मकवानपुर, ३० कार्तिक । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् ।

थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-३ सञ्जिवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने गाडी चालक ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् ।

प्रहरीका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१ ०३५ च ४५६१ नम्बरको सेतो रङको एसयुभी जिपलाई रोकी जाँच गरिएको थियो । जाँचका क्रममा गाडीको पछाडिको डिकीमा रहेको कालो रङको लगेज ब्यागभित्र लत्ताकपडामा लुकाइछिपाइ सेतो प्लास्टिकले बेरेर ल्याइएको ५ पोका चरेस फेला परेको हो ।