काठमाडौँ, ३० कार्तिक । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे टिप्पणी गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल–भारत सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन ।
संसद्मा प्रधानमन्त्रीले दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले चासो तथा आपत्ति जनाइसकेको उनले बताए । विशेषगरी सीमा विवादमा तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति सच्याए पनि नेपालको सार्वभौमिकता र हकसँग जोडिएको विवादास्पद अभिव्यक्ति नसच्याएको उनको आरोप थियो ।
नेपाल र भारतबीच सीमा समस्यासम्बन्धी विषय दुवै देशबीच दस्तावेजीकरण भइसकेको उल्लेख गर्दै उनले त्यसको समाधानका लागि प्रधानमन्त्रीले नेपालको पक्षमा स्पष्ट रूपमा पैरवी गर्नुपर्ने बताए । भारत भ्रमणका क्रममा सीमा समस्या समाधानका विषयमा छलफल गर्न र ईपीजी प्रतिवेदन हस्तान्तरणको विषयलाई समेत प्राथमिकतामा राख्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रधानमन्त्रीले विगतमा ग्रेटर नेपालको विषय उठाउने गरेको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले अहिलेको सन्दर्भमा नेपालको वर्तमान सीमाङ्कन र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व भएको बताए ।










प्रतिक्रिया दिनुहोस्