काठमाडौँ, ३० कार्तिक । नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जना सहभागी हुने भएका छन्।
एमालेले पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र सङ्घीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ। माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेलामा विशेष सम्बोधन गर्नेछिन्।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यस्तै, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहनेछ। जनसंगठनका प्रतिनिधि, विभिन्न उपसमितिका सदस्य र स्वयंसेवकसमेत सहभागी हुने भेलामा पार्टीका सबै तह र संसदीय क्षेत्रको प्रतिनिधित्व रहने एमालेको भनाइ छ।
एमालेले राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले भेला आयोजना गर्न लागेको जनाएको छ। पार्टीको केन्द्रीय कमिटीको असोज ५ देखि ८ गतेसम्म सम्पन्न तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भएर कार्यान्वयन गर्ने विषयलाई भेलाको मुख्य उद्देश्य बनाइएको छ।
भेलामा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ कामबारे राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्ने कार्यक्रम छ। पूर्वराष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन्।
उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। एमालेले भेलालाई महाधिवेशनभन्दा बढी सङ्ख्यामा सहभागी हुने र पार्टीका सबै तहको प्रतिनिधित्व रहने राष्ट्रिय कार्यक्रमका रूपमा व्याख्या गरेको छ।
भेलामा सहभागी हुनेहरूका लागि आवासको व्यवस्था स्वयं गर्न आग्रह गरिएको छ। आवासको व्यवस्था गर्न नसक्ने सहभागीलाई सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ। कार्यक्रमस्थलमा पार्किङको सुविधा नहुने भएकाले सवारीसाधनको पार्किङ पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ। भेलास्थल र सहभागीको सुरक्षाका लागि अवकासप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ।
भेलाको उद्घाटन समारोहमा सञ्चारकर्मीलाई सभाहलसम्मै पहुँच दिइने र समाचार संकलन तथा श्रव्यदृश्य सामग्री खिच्न पाउने व्यवस्था गरिएको छ। त्यसपछिका सत्रका लागि मिडिया सेन्टरमार्फत पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी उपलब्ध गराउनेछ। बन्दसत्रका महत्त्वपूर्ण समाचार सम्प्रेषणका लागि प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालको नेटवर्कमार्फत सञ्चारकर्मीलाई जोडिने एमालेले जनाएको छ।
प्रेस वक्तव्यमा एमालेले २०८२ भदौमा भएका आगजनी, तोडफोड र लुटपाटका घटना, फागुनमा सम्पन्न निर्वाचन तथा त्यसपछि गठन भएको सरकारका कामकारबाहीले मुलुकको राजनीतिक र लोकतान्त्रिक वातावरण जटिल बनेको टिप्पणी गरेको छ। सरकारको कार्यशैलीप्रति जनतामा असन्तुष्टि, अन्योल र निराशा बढेको दाबी गर्दै पार्टीले राष्ट्रिय भेलामार्फत राजनीतिक दिशा र आगामी कार्यभारबारे आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।










प्रतिक्रिया दिनुहोस्