काठमाडौँ, ३० कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झाङ गुओकिङ छन् ।
उनी हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार बिहान करिब १०ः३० बजे काठमाडौं अवतरण गरेका थिए । शंकास्पद गतिविधिका आधारमा उनीमाथि चेकजाँच गरिएको थियो ।
त्यसक्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकमा बेरेर राखिएको दुईथान उक्त पदार्थ फेला परेको थियो । करिब ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उक्त पदार्थ लुकाइछिपाइ भन्सार छली अवैध रूपमा लैजान लागेको अवस्थामा फेला पारेर बरामद गरी झाङलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्