समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, ३० कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । 

हराएको बाख्रा खोज्न जंगलछेउ पुगेका स्थानीय ६५ वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो ।

स्थानीयका अनुसार बाख्रा खोज्ने क्रममा चौधरीसहित चार-पाँच जना गाउँको पूर्व–उत्तर दिशामा पर्ने जंगलनजिकैको गोठतर्फ गएका थिए। सोही क्रममा उनीहरू नजिकै हात्ती देखापरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ‘हात्तीको आवाज सुनेर चौधरी ठुलो स्वरमा कराएका र त्यसपछि आक्रोशित बनेको हात्तीले उनलाई लखेटेर आक्रमण गरेको’ थियो । हात्तीको प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान अघि बढाएको जनाएको छ ।