Banner News

प्रधानमन्त्री शाह आइतबार दिउँसो भारत जाने



काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् ।

नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने प्रधानमन्त्री सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारत भ्रमणबारे औपचारिक जानकारी दिइएको हो 

 प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यवसायी टोली पनि भारत जाने भएको छ । व्यवसायीहरूको टोली आफ्नै खर्चमा भारत भ्रमणमा जाने छन् । प्रधानमन्त्रीको औपचारिक भ्रमण टोली भने ३४ सदस्यीय रहने मन्त्रालयले जनाएको छ ।

टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा पनि उनी सहभागी हुनेछन् ।

भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, आइतबार नै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् । साथै, दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।