काठमाडौँ, २८ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा ३७.३५ प्रतिशतले बढेर १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो।
यस आधारमा समीक्षा अवधिमा टेलिकमको खुद नाफा ४९ करोड ४९ लाख रुपैयाँले वृद्धि भएको देखिएको छ। यससँगै कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) ४० रुपैयाँ ४५ पैसा कायम भएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशतले बढी हो।
त्यस्तै चालु आवको पहिलो तीन महिनामा कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिको ९ अर्ब ४७ करोड १० लाख रुपैयाँको तुलनामा कुल आय ६६ लाख ४६ हजार रुपैयाँ अर्थात् ०.०७ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।
वित्तीय विवरणअनुसार ब्याज, कर, ह्रासकट्टी र अमोर्टाइजेसन अघिको नाफा (इबिट्डा) भने ६.१३ प्रतिशतले घटेको छ। गत आवको पहिलो त्रैमासमा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ रहेको इबिट्डा यस वर्ष २९ करोड १४ लाख रुपैयाँले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा झरेको छ।
यसका बाबजुद कम्पनीको कर अघिको नाफा भने ३.६५ प्रतिशतले बढेको छ। गत वर्ष २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको कर अघिको नाफा १० करोड ५२ लाख रुपैयाँले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको टेलिकमले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्