राजनीति

राप्रपा महाधिवेशन प्रतिनिधि मंसिर ४ देखि १० गतेसम्म छनोट गरिने



काठमाडौँ, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया मंसिर ४ गतेदेखि सुरु हुने भएको छ । उनका अनुसार हिमाल, पहाड र तराईमा प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम निर्धारित संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोट गरिनेछ । यसका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा निर्धारण गरिएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय महाधिवेशनमा विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् । गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् ।

प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिला तीन जना, उत्पीडित एक जना र आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी दुई जनासहित जम्मा नौ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुँदैछ ।