समाचार

मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु



काठमाडौँ, २८ कार्तिक । बर्दियामा मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते छन् ।

आज दिउँसो गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलसँग ठोक्किएर बा५ख ५६०५ नम्बरको यात्रुवाहक मिनिबस पल्टिएको प्रहरीले जनाएको छ ।

गुलरियाबाट नेपालगन्जतर्फ आउँदै गरेको उक्त बस र विपरीत दिशाबाट जाँदै गरेको सीएचओ १ सीएम ९४३७ नम्बरको भारतीय मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढका ३४ वर्षीय हुकुमबहादुर खत्री र त्यसमा पछाडि सवार हाल नामथर, वतन नखुलेका अन्दाजी ५५/६० वर्षीय पुरुषको उपचारका क्रममा बर्दिया जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बसका चालक गुलरिया–८ का ४० वर्षीय हरि चौधरीसहित बर्दिया, बाँके र दाङका यात्रु छन् । घाइतेमध्ये उपचारपछि केही यात्रु ‘डिस्चार्ज’ भएका छन् । केही यात्रुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।